मन्चमा महिला, नेपालटार

U.S embassy’s Book Bus in collaboration with Word Warriors brings Women on Stage as a platform for women of various Nepali communities to share their stories in the form of Spoken word poetry. Women on Stage is a poetry workshop that aims to involve and develop reading and writing habits in women.

After working with two women groups in Lumbini ,Chapagaun, and Lalitpur, we finalized a group of women in Nepaltar for  the Women on Stage workshop. Larisa and Sumitra were assigned to facilitate workshops from June 3 – 8 with women of Dynamic Group Nepal. Below is a sparkling, nostalgic account by Sumitra. 

 

कविता लेख्न र भन्न प्रोत्साहन गर्ने क्रममा हाम्रो तेस्रो यात्रा नेपालटारतिर अगि बढ्यो । डायरी, कलम र कविताको नमुनाले भरिएको झोला बोकी उत्साह र हौसलाका साथ भृकुटीमण्डप, ठमेल, सोह्रखुट्टे, बालाजु हुदै रानीवनको पारीपट्टीको नेपालटारमा पुगेका हामीलाई पर्खिरहेका थिए थुप्रै घरका रानीहरूले । सबैको आँखामा कार्यशालाको लागि उत्साह देखेर हामीले बाटोको धुलोधुँवाले निम्त्याएको कष्ट सबै बिर्सियौँ । २३ जनाको उपस्थितिसँगै कार्यशालाको पहिलो दिनको सुरुवात केही कविता सुनेर र सुनाएर भयो । आफ्नो नामलाई सिधै नभनी हाउभाउबाट बुझाउनु पर्ने सानो खेल खेलेपछि उहाँहरू हामीसँग केही खुल्नु पनि भयो । अझै याद छ मलाई उहाँहरूले आफ्नो परिचय दिँदा बूढी र चोर औँला जोडेर बिन्दुको सङ्केत गरेको, हातले बाँसुरी बनाएर राधिका भनेको । हामीले कोठाभित्र एकअर्काको सामु आफ्ना मनपर्ने कुरा, मनपर्ने ठाउँ, भेटाएका कुरा, हराएका कुराहरू पोखिरहेका थियौँ भने बाहिर भारि वर्षा पोखिइरहेको थियो जसले गर्दा हाम्रो पहिलो दिनको कार्यशाला अन्त्य गर्ने खेल पनि रोकियो । हिलोको ढिस्कोले बाटो छेकेर रोक्दै थियो हामीलाई । तर हिलोको छिट्टाका बुट्टा खुट्टा भरि थाप्दै, उहाँहरूको लागि लगेको डायरी उहाँहरूलाई नै थमाई धेरै पछि दिदीहरूको जीवनमा गृहकार्यको भारी उहाँका काँधमा सारेर फर्क्यौं ।

भोलिपल्ट हामी पुग्दा त्यही समय, त्यही ठाउँमा गृहकार्यको चहलपहल चलिरहेको थियो, मानौं हामीले दिदीहरूको बिचमा बम छोडेर गएका थियौँ । हामीले सबैलाई पालैपालो आफुले लेखेका कुरा सुनाउन आग्रह गर्यौँ । प्राय सबै दिदीहरूले आफ्नो श्रीमानको बारेमा लेख्नु भएको थियो । कसैको पोखरा घुम्दाको कथा, कसैको धेरैपछि एरपोर्टमा जादाँको याद त कसैको विवाहपछिको दिनचर्याको कथा, सबैको खुशीले भरिएको कथा सुन्दा हामीलाई निकै आनन्द लाग्यो । त्यही भवनको पल्लो कोठामा सिलाई, अर्कोमा मोंटेशोरी ट्रेनिंग अनि हाम्रो कोठामा हामीले कथा र कविता सुनाउदै गर्दा लाग्यो एकै छतमुनि थुप्रै कुराहरूले आ-आफ्नै शैलीमा आनन्द आदान प्रदान गरिरहेका छन् । त्यसदिन पनि झरीका कारणले हामीले बाहिर खेल खेल्न सकेनौँ । दिदीहरूलाई हामीले लेखन मात्र नगराई  खेल पनि खेलाउँछौँ भनेर भन्न नपाउँदाको दु:खलाई आफैभित्र लिएर लरिसा र म हिलो बाटो दोहोर्याउँदै फर्कियौँ बस स्टेन्ड तर्फ ।

तेस्रो, चौथो र पाँचौ दिन भने हामीलाई मौसमले सताएन । हामीले कार्यशालामा खेल्ने खेलहरू सबै खेलायौँ । धेरै पछि आफ्नो बाल्यकालको स्मरण गर्दै खेल खेल्न पाउँदा दिदीहरू पनि हर्षित हुनुहुन्थ्यो । शान्ता दिदी उमेरमा सबैभन्दा जेठी हुनुहुन्थ्यो । पढनलेख्न नपाएर आफू थुप्रै कुरामा पछि परियो भन्नुहुन्थ्यो । “हाम्रो पालामा महिलाहरूलाई यसरी भेला भएर अभ्यास गर्ने वातावरण थिएन । कुनै पनि गोष्ठी, भेलाहरूमा महिलालाई आफ्नो विचार व्यक्त गर्न पाइदैन थियो । आजका महिलाहरू घरदेखि बाहिर गएर आफ्नो पहिचान बनाउन सफल भएका छन् र भोलिको दिनमा महिलाहरूको प्रगति संसारभर गुञ्जनेछ” भन्दै आफ्नो भोगाइ हामीसँग बाँड्नु भयो । भर्खरै प्रौढ शिक्षाबाट लेख्न सिक्नु भएको सीता दिदीमा कविता लेख्ने जोस देखेर हामीलाई मंचमा महिला कार्यक्रमको भाग हुन पाएकोमा अति सन्तुष्ट महसुस भयो । उहाँले आफू आफ्नो पहिलो रेडियो भएर आफुलाई लेख्नु भएको चिठी सुन्न मलाई एकदम रमाइलो लाग्यो । हाम्रो प्राय कार्यशालामा हुने क्रियाकलापहरू सहभागीको बिगतको समयको भोगाइ र अनुभवलाई ताजा गराउने खालका हुन्छन् । दिदीहरू पनि थुप्रै पटक आफ्नो बुबा, पढाई, बाल्यकालको स्मरण गर्दा भावुक हुनुभयो तर यसले उहाँहरूलाई आफूप्रति ध्यानआकर्षण गराउन हामीलाई सहज भयो ।

सबै दिदीहरू रमाइलो गर्न एकदम मनपराउनु हुन्थ्यो । अनि मंचमा महिलाको यात्रामा लरिसा पनि असल सहयात्री रहिन् । हाम्रो नेपालटार जाने-आउने बसको यात्रा कार्यशालामा अझ राम्रो के गर्न मिल्छ र दिन कस्तो भयो जस्ता कुराले भरिएको हुन्थ्यो । लरिसा भने देश छोड्नु अघि देशका महिलाहरूसित यसरी काम गर्न पाउदा निकै खुशी थिइन् । यो यात्रामा हामी प्यारो मित्र पनि बन्न पायौँ । कार्यशालाको दिन सिद्दिदै जादा सबै दिदीहरूसँग पनि सुमधुर साथ बढ्दै गयो जसले गर्दा ६ दिनको यात्राको अन्तिम दिनमा पुग्दा हामीलाई अलि न्यास्रो पनि लग्यो ।

छैठौँ दिन प्रस्तुतिको दिन थियो । त्यसदिन सबैले कार्यशालाको  पाँच दिनभरिमा लेख्नुभएको कवितालाई प्रस्तुतिमा ढाल्नु पर्ने थियो । सबैजनाले आफ्नो कविता लिएर आउनु भयो । हामी पनि माइक स्ट्यान्ड र उत्सुकताका साथ त्यहाँ पुग्यौँ । हामीले पल्लो कोठामा सिलाई सिकिरहनु भएको र अरु तालिम लिइरहनु भएको दिदीहरूलाई पनि कविता सुन्नका लागि डाक्यौँ । सबैले पालैपालो गरेर प्रस्तुति दिनुभयो । उहाँहरूले आफ्नो छोराछोरी, काम, घुम्न गएको ठाउँ, बुबा, महिलावाद आदि जस्ता विभिन्न शिर्षकहरूमा आफू भएर लेख्नु भएका कविताहरू सुनाउनुभयो । एकअर्काको कविता सुनेर हामी सबै आनन्द लिइरहेका थियौँ । उहाँहरूले कविता भनेपछि नाचगान गरेर मात्र बिदा गर्ने निधो गर्नुभयो । स्पिकरले गीत बजाउनमा हामीलाई साथ नदिएपछि पार्वती दिदी आफैले गीत गाउन थाल्नुभयो र सबैजना नाच्न पनि थाल्नुभयो । गीता दिदीले पनि उहाँको स्वरको साथ थप्नु भयो, अनि सांगीतिक माहोल अझ बढ्यो । बिदाईको न्यास्रोपन सबैमा भए पनि आफ्ना मलिन आखाँहरूको भावलाई मुस्कानले भरि हामीलाई खुसीसाथ बिदा गर्नु भयो । लरिसा र म फर्किँदा बाटैभरि गीतको बोल दोहोराउदै आयौँ “हासेर बोलिदेऊ माया यसैगरी भेट कहिले हुन्छ र ?”

 

Sumitra Bogati is a poet with the Word Warriors, a science instructor at Book Bus, and a cheerful and endlessly creative part of the QC team.

Home

Copyright © 2014
Quixote’s Cove
Ekantakuna
Lalitpur
Ph: +977-1-5536974

Powered & Developed By: Neolinx Pvt. Ltd.