शिक्षामा नवसिर्जना मेला (आईईएफ) दमकमा

 

झापा स्थित दमक नगरपालिका र शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्त कार्यालय (युएनएचसीआर) सँगको सहकारितामा अमेरिकी दुतावासको बुक बसले शिक्षामा नवसिर्जना मेला (आईईएफ) आयोजना गरेको छ । दमक वडा नं ९ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा गत कार्तिक २० देखि २३ गतेसम्म आयोजना भएको यस मेलामा २० भन्दा बढी संस्था र ९ जना स्वतन्त्र रूपमा कार्यरत प्रशिक्षकले विद्यालयलाई थप सुरक्षित स्थान बनाउने, स्थानीय समुदाय र वातावरणलाई सिकाइको केन्द्र बनाउने, स्टीम (विज्ञान, प्रविधि, ईन्जिनियरिङ्ग, कला र गणित) र भाषा कला शिक्षाका विषयवस्तुमा विभिन्न अन्तर्विषयक कार्यशाला प्रदान गर्न सहकार्य गर्नुभएको थियो । आईईएफको आयोजना गर्ने क्रममा दमकका विद्यालयसँग संचार तथा समन्व्यय गरेर कार्यक्रम प्रभावकारी रूपमा संचालन गर्न निम्ति दमक नगरपालिकाको नेतृत्वमा विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकसहितको समिति गठन गरिएको थियो ।

कार्तिक २० गतेको उद्घाटन कार्यक्रम दमक नगरपालिकाका नगर उपप्रमुख तथा नगर शिक्षा समिति संयोजक गीता पौडेल अधिकारीको अध्यक्षतामा भएको थियो भने दमक नगरपालिकाका शिक्षा उप-सचिव दिनेश कुमार न्यौपानेले स्वागत मन्तव्य दिनुभएको थियो । उद्घाटन समारोहमा माननिय प्रदेश सांसद अर्जुन राईले प्रमुख अतिथि, नगर प्रमुख रोमनाथ ओलीले विशिष्ट अतिथिको आशन ग्रहण गर्नुभएको थियो । यसका साथै सो कार्यक्रममा दमक नगरपालिका वडा नं. १,२,३,४,५,६,७,८,९,१० का वडा अध्यक्ष तथा कार्यापालिका सदस्य, विभिन्न राजनीतिक दलका नगर अध्यक्ष तथा प्रतिनिधि, स्थानीय व्यवसायी, जेसिस, रोटरी, रेडक्रस, आम्दा, विभिन्न शैक्षिक संस्थाहरूका प्रतिनिधिका साथै शिक्षा समिति र पूर्व प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो । कार्यक्रम अवधिभर दमकका २१ सामुदायिक विद्यालय र १३ निजी विद्यालयबाट १८२ जना र २ स्थानीय मनोपरामर्शदाता, र मेलाका कार्यशालामा सहभागी हुन सिन्धुपाल्चोक, मकवानपुर र सिन्धुलीबाट ९ जना शिक्षक तथा विद्यालय नेतृत्व टोलीका सदस्य गरि जम्मा १९३ शिक्षाकर्मी तथा शिक्षाप्रेमीले सो मेलाका कार्यशालामा सहभागिता जनाउनु भएको थियो ।

कार्यक्रमका सबै दिनको सुरुवात एक स्पोकन वर्ड कविता समूह, वर्ड वारियर्सका सदस्यको कविताबाट भएको थियो । कार्यक्रममा वर्ड वारियर्सबाट सारस, सुमित्रा, रोचक, कृति र निशाले आफ्ना कविता प्रस्तुत गरेका थिए । यसका साथै दमक नगरपालिकासँग नवसिर्जित शैक्षिक पद्धतिसँगको आफ्नो अनुभव साट्न सिन्धुपाल्चोकको पाँच पोखरी थाङ्गपाल गाउँपालिकाबाट श्री चिलाउने माविका प्रधानाध्यापक बाबुलाल तामाङ, शैक्षिक समितिका सदस्य तथा चण्डिका माविका प्रधानाध्यापक ग्याल्बो साम्देन तामाङ र सामाजिक विकास शाखाका प्रमुख तथा शिक्षा समितिका सदस्य ङ्गिङ छिरिङ तामाङ आउनुभएको थियो । उहाँहरूले आफ्ना विद्यालयमा भाषा तथा कला शिक्षाको प्रयोग र कला तथा स्थानीय पाठ्यक्रम विकास गर्न सृजनालयसँगको ३ वर्षे कार्ययोजनाको अनुभव कस्तो हुँदैछ भन्नेबारे प्रस्तुति दिनुभयो । सो प्रस्तुति पछि काठमाडौँ विश्वविद्यालयका प्राध्यापक बाल चन्द्र लुइँटेलले आफ्ना अनुभव र तथ्यांकलाई आधार बनाएर रुपान्तरणात्मक शैक्षिक योजनाको संरचना किन र कस्तो हुनु पर्छ भन्नेबारे प्रस्तुति दिनुभयो । कार्यक्रम सुरु भएको घोषणा गर्दै नगर उपप्रमुख गीता पौडेल अधिकारीले यो कार्यक्रम सहभागी विद्यालयको कार्ययोजना निर्माणमा केन्द्रित भएकाले आफ्ना विद्यालयका स्रोतसाधन र समस्यालाई ध्यानमा राख्दै कार्यशाला सहजीकरण गरिरहेका विभिन्न संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गर्न प्रोत्साहन गर्नुभयो । यस कार्यक्रमका कार्यशालामा हुने छलफल र अन्तिम दिनमा तयार पारिने कार्ययोजना दमकको शैक्षिक क्षेत्रमा नविनता ल्याउने उहाँको आशा रहेको पनि व्यक्त गर्नुभयो ।

उद्घाटन  समारोहको समापन पछि सहभागीका लागि कार्यशाला विभाजन भयो । कार्यशाला सत्र पछि संगीत थेरापिस्ट तथा सांगीतिक कलाकार श्रीति प्रधानको सांगीतिक प्रस्तुतिका साथ पहिलो दिनको कार्यक्रमको अन्त्य भयो । यस शिक्षामा नवसिर्जना मेलामा ‘एकीकृत पाठ्यक्रम गतिविधि निर्माणको केन्द्रविन्दु सिर्जनात्मक क्रियाकलाप’, ‘अध्यापन दृष्टिकोणबाट स्टिम शिक्षा : गणित र विज्ञान सिकाइको लागि सुरक्षित तथा रमाइलो वातावरणको सिर्जना’, ‘व्यावहारिक स्टिम प्रोजेक्ट निर्माणमा कमदेखि शून्य लागत उपाय’, ‘शैक्षिक सामग्रीको रूपमा स्थानीय समुदाय तथा वातावरणको प्रयोग’, ‘सिकाइको केन्द्रमा कथा’, ‘शारीरिक तथा मानसिक विकासका लागि कविता, प्रस्तुति र नाट्यकला’, र ‘विद्यालय : सुरक्षित तथा समावेशी स्थान’ गरि सात कार्यशाला समूह थिए ।

कार्यक्रमको दोश्रो र तेश्रो दिन कार्यशाला समूहका सहभागीहरूका लागि केन्द्रित थियो । दोश्रो दिनको पहिलो परिचयात्मक प्रस्तुतिमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका सहप्राध्यापक विनोद पन्तले शैक्षिक नेतृत्व कसको हो र एक साझा दायित्व कसरी हुन्छ भन्नेबारे छलफल गर्नुभयो । यस दिनको दोश्रो परिचयात्मक प्रस्तुति भने सचेतनामा आधारित मध्यस्थकर्ता प्रशिक्षक मौशम रत्न शाक्य र लेखक तथा शिक्षाविद् आयुष्मा रेग्मी बीचको छलफल रहेको थियो । सो छलफलमा उहाँहरूले विद्यार्थी तथा शिक्षकमा मानसिक तनाव बढाउने पक्षको पहिचान कसरी र किन गर्ने भन्ने विषयमा सहभागीसामु आ-आफ्नो विचार राख्नुभएको थियो । तेश्रो दिनमा स्थानीय समुदाय तथा वातावरणमा उपलब्ध श्रोतलाई शैक्षिक सामग्रीको रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा वन्यजन्तु संरक्षण संघ नेपालका प्रकृति अनुवादक (नेचर इन्टरप्रेटर) राजेश्वर रिजालले प्रस्तुत गर्नुभएको थियो । यसका साथै शिक्षा नीति तथा अभ्यास केन्द्रका सदस्य सचिव टीका भट्टराईले पालिकास्तरमा शिक्षा नीति निर्माण गर्दा के गर्नुपर्छ र के के हुँदैछ भन्नेबारे आफ्नो विचार व्यक्त गर्नुभयो र दमक नगरपालिकाको शिक्षा नियमावलीमा रहेका नवीन पक्ष तथा सुधार गर्न मिल्ने पक्षबारे पनि छलफल गर्नुभयो । यी दुवै दिनको कार्यशाला पछि सहभागीहरूलाई दुई समूहमा विभाजन गरियो र एक समूहका सहभागी कथाघेराको प्लेब्याक थिएटर प्रस्तुतिमा र अर्को समूह सूचना तथा संचार प्रविधि (आइसीटी) सम्बन्धि प्रस्तुतिमा सहभागी हुनुभयो ।

कार्यक्रमको अन्तिम दिन कार्तिक २३ गते सहभागीहरूले आफ्ना विद्यालयको लागि कार्ययोजना बनाउनु भयो । कार्ययोजना निर्माणमा सहयोग गर्न डा. अमिना सिंहले कार्ययोजनाको औचित्य, तर्जुमा, अन्तरसंस्थागत सहकारिता तथा संवादबारे प्रस्तुति दिनुभयो । कार्ययोजना निर्माण गर्ने क्रममा एक विद्यालयबाट कम्तिमा ४ देखि ६ सहभागीको एक समूह बनाएर आफ्नो कार्यशाला अनुभवको दैनिक टिप्पणीको आधारमा योजना कार्यपत्र तयार पार्नुभयो । सो कार्यपत्रमा कुन कुन संस्था वा व्यक्तिसँग कसरी, कहिले र किन सहकार्य गर्न मन छ, प्रमुख लाभग्राही को हुन्छ, र यसमा के कस्ता आर्थिक तथा प्राविधिक श्रोतसाधन आवश्यक हुन्छन् भन्नेबारे उल्लेख गरिएको छ । यस योजना कार्यपत्र र थप विवरण भएको कार्यक्रम विवरण कार्यपत्रलाई आधार मानेर सहभागीले आफ्ना विद्यालयका लागि लक्ष्य, क्रियाकलाप र परिणाम सहितको कार्ययोजना निर्माण गर्नुभयो ।

कार्ययोजना निर्माणमा प्रत्येक कार्यशालाबाट नेतृत्व गरिरहेका विद्यालय (सिंहदेवी मा. वि., हिमालय मा. वि., ढुकुरपानी मा. वि., सरस्वती मा. वि., दीपीनी आ. वि., पाणिनी मा. वि.) का साथै सम्पूर्ण सहभागी विद्यालयको कार्ययोजना दस्तावेज एक अर्काले पढ्नका लागि प्रदर्शनीमा पनि राखिएको थियो । प्रदर्शनी पछि भएको समापन कार्यक्रम पनि विशिष्ट अतिथिको रूपमा दमक नगरपालिकाका नगर प्रमुख रोम नाथ ओलीको उपस्थिती र नगर उपप्रमुख तथा नगर शिक्षा समिति संयोजक गीता पौडेल अधिकारीको अध्यक्षतामा भएको थियो । दमक नगरपालिकाले अमेरिकी दुतावासको बुक बसको सहकारितामा तयार कार्ययोजना लागू भएनभएको, कार्यान्वयन तथा समस्याबारे बुझ्न ३-३ महिनामा विद्यालयसँग सम्पर्क राखिरहने वाचाका साथ यी तयार कार्ययोजनामा विद्यालयबाट थप काम हुनेछ भन्ने आशा र नगरपालिकाबाट सक्दो सहयोगको प्रतिबद्धता सहित यो चार दिने शैक्षिक मेला सम्पन्न भयो ।

शिक्षामा नवसिर्जना मेलामा वक्ताले प्रस्तुतिमा प्रयोग गरेका पावरपोइन्ट फाइलहरू यहाँ हेर्न सक्नुहुन्छ । 

 

Home

Copyright © 2014
Quixote’s Cove
Ekantakuna
Lalitpur
Ph: +977-1-5536974

Powered & Developed By: Neolinx Pvt. Ltd.